काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोली तथा त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड नवयुग श्रेष्ठको ग्राउन्ड रिह्याबका लागि १२ साता कुर्नुपर्ने भएको छ । प्रशिक्षणका दौरान दायाँ घुँडामा चोट लागेपछि बिहीबार नवयुगको शल्यक्रिया गरिएको थियो । बिएण्डबीका डाक्टर अमित जोशीको टोलीले उनको घुँडाको शल्यक्रिया गरेका थिए ।

बिएण्डबीका डाक्टर अमित जोशीको टोलीले उनको घुँडाको शल्यक्रिया गरेका थिए । डाक्टरले शल्यक्रिया राम्रो भएको र ३ महिनापछि ग्राउन्ड रिह्याब सुरु गर्ने भन्नुभएको , नवयुगले भने । सहिद स्मारक ए डिभिजनको लिगका तयारीको क्रममा रहेको आर्मी र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) बीच गत साता अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित मैदानमा मैत्रीपूर्ण खेलका क्रममा नवयुगको घुँडामा चोट लागेको थियो ।

उनको दायाँ घुँडाको मेडिएल कोल्याटरल लिगामेन्टमा (एमसिएल) चोट लागेको थियो । रिह्याबका लागि पनि झण्डै तीन महिना कुर्नुपर्ने भएकाले नवयुगले यसपटकको लिग गुमाउने सम्भावना देखिन्छ । नवयुग सम्मलित टोलीले गत महिना माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप खेलेको थियो ।

२८ वर्ष अघि सुरु भएको साफ च्याम्पियनसिपमा नेपालले पहिलो पटक फाइनल खेलेको थियो । आर्मीमा नवयुगको अनुपस्थितिमा अब जर्जप्रिन्स कार्की र भरत खवासले आक्रमण सम्हाल्ने देखिन्छ । गत सिजन आर्मी लिगको अन्तिम खेलमा मच्छिन्द्रसँग पराजित हुँदा उपाधिबाट बन्चित भएको थियो ।

Source: https://www.hamrokhelkud.com/football/99879.html?fbclid=IwAR3dnKzFoxvVywvFmhH4oENT0r3uIsxr4kiYnwqXwBAg6_lIFnXGplmP-vg