ललितपुर । बी एण्ड बी अस्पतालले नेपालमा पहिलो पटक सफलतापूर्वक रोबोटिक शल्यक्रियाको सुरुवात गरेको छ । यो अग्रगामी उपलब्धी नेपालको चिकित्सा क्षेत्रमा ऐतिहासिक कोसेढुङ्गा बनेको छ । जसले शल्यक्रिया गर्ने तरिकामा आमूल परिवर्तन ल्याउने बताइएको छ । यो सुरुवातसँगै बिरामीको स्वास्थ्योपचारमा अझ सुधार गर्ने बताइएको छ ।
बी एण्ड बी अस्पतालमा रोबोटिक शल्यक्रियाको शुरुवातले नेपालमा चिकित्सा अभ्यासको अग्रभागमा अत्याधुनिक प्रविधि ल्याएको छ । यस अत्याधुनिक शल्यक्रिया प्रविधिले सुक्ष्म शल्यक्रियाको प्रक्रियालाई पनि अत्यन्त सहजताका साथ सम्भव बनाउँछ । रिकभरी समय कम गर्छ र बिरामीको छिटो स्वास्थ्य लाभ हुन्छ । उच्च प्रशिक्षित सर्जनहरूद्वारा सञ्चालित रोबोटिक प्रणालीले जटिल शल्यक्रियामा सटिकता र दक्षता सुनिश्चित गर्दै स्वास्थ्य सेवा प्रदान गर्ने नयाँ मापदण्ड स्थापित गरेको छ ।
बी एण्ड बी अस्पतालका प्रा. डा. जगदीशलाल वैैद्यले भने, “नेपालमा रोबोटिक शल्यक्रिया प्रदान गर्ने पहिलो अस्पताल हुन पाउँदा हामी उत्साहित छौँ । यो नवीन प्रविधि हाम्रा बिरामीहरूलाई विश्वस्तरीय चिकित्सा सेवा प्रदान गर्ने प्रतिबद्धतामा महत्त्वपूर्ण कदम हो । रोबोटिक शल्यक्रियाले न केवल शल्यक्रिया प्रक्रियाको गुणस्तर बढाउनेछ, यसले परम्परागत शल्यक्रियासँग सम्बन्धित जोखिम र रिकभरी समयलाई पनि कम गर्नेछ ।”
बी एण्ड बी अस्पतालमा रोबोटिक शल्यक्रियाको सुरुवातले संस्थाको निरन्तर सुधार र चिकित्सा प्रविधिमा अत्याधुनिकता अपनाउने प्रतिबद्धतालाई प्रस्तुत गर्दछ । यो ऐतिहासिक उपलब्धीले नेपालमा स्वास्थ्य सेवाको परिदृश्यलाई रूपान्तरण गर्दै बिरामीहरूलाई अत्याधुनिक शल्यक्रियामा पहुँच प्रदान गर्नेछ ।
Source: https://kendrabindu.com/health/345192/