प्रो. डा. जगदीशलाल वैद्यको अग्रसर्तामा, बि एण्ड बि अस्पतालले दुवै मृगौला स्थायी रूपमा फेल भएका बिरामीहरूका लागि विश्वस्तरीय मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ।
पहिलो सफल प्रत्यारोपण मङ्सिर २५ गते धरान निवासी ५५ वर्षीय पुरुषमा गरिएको थियो। उहाँको दुवै मृगौला डाइबिटिजका कारण फेल भएको थियो। बिरामीलाई उहाँकी ५४ वर्षीया बहिनीले मृगौला दान गर्नुभएको थियो। डोनरलाई पुस २ गते र बिरामीलाई पुस ४ गते अस्पतालबाट डिस्चार्ज गरिएको छ। दुबैको स्वास्थ्य अवस्था अहिले राम्रो छ, र उनीहरूलाई नियमित फलोअपमा रहन सल्लाह दिइएको छ।
यस सफल प्रत्यारोपणका लागि बि एण्ड बि अस्पतालको विशेषज्ञ टिमले महत्त्वपूर्ण भूमिका खेलेको छ। मृगौला प्रत्यारोपण टोलीमा सर्जनहरू डा. वीरेन्द्र प्रसाद यादव र डा. सरोज लाल वैद्य हुनुहुन्थ्यो भने नेफ्रोलोजिस्ट तथा किड्नी प्रत्यारोपण फिजिसियनका रूपमा प्रो. डा. शैलेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो भने एनेस्थेसिया विशेषज्ञको रूपमा डा. दिपेश धिताल हुनुहुन्थ्यो। यसबाहेक, मानव अङ्ग प्रत्यारोपण केन्द्र (HOTC), भक्तपुरका डा. पुकार श्रेष्ठ, डा. दिपेश श्रेष्ठ, र डा. सोभित थापाको प्राविधिक सहयोगले यो प्रक्रिया सफल बनाउन महत्वपूर्ण योगदान पुर्याएको थियो।
यो सेवा मृगौला फेल भएका बिरामीहरूको जीवनमा ठूलो परिवर्तन ल्याउने एक महत्वपूर्ण कदम हो। बि एण्ड बि अस्पतालले यो सेवा निरन्तरता दिने प्रतिबद्धता जनाउँदै, विश्वस्तरीय सुविधा र विशेषज्ञता उपलब्ध गराउने लक्ष्य राखेको छ।